४४ देशका लागि संसदीय मैत्री समूह गठन

सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउन ४४ देशका लागि संसदीय समिति बनाएको जानकारी दिएका छन् ।

सभामुखले विदेशसँगको सम्बन्ध विस्तारका लागि संसदीय मैत्री समूह बनाई संयोजकसमेत तोकी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरूसँग आग्रह गरेका छन् ।

बिहीवार सिंहदरबारमा संसदीय मैत्री समूहका संयोजकहरूसँगको छलफलका क्रममा उनले संसदीय मैत्री समूहका संयोजकहरूसँग यस्तो आग्रह गरेका हुन् ।

उनले नेपालको संसद्ले विभिन्न ४१ देशका संसद्सँग सम्बन्ध विस्तारका लागि संसदीय मैत्री समूह बनाई संयोजकसमेत तोकिसकेको र बाँकी ३ वटा संसदीय मैत्री समूहको संयोजक छिटै तोक्ने जानकारी दिए ।

उनले नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ, नेपाल र साउदी अरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा, नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाल–अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य, नेपाल–कतार संसदीय मैत्री समूहको संयोजकमा लीलानाथ श्रेष्ठ, नेपाल–नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा. चन्दा कार्की र नेपाल-भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरीलाई तोकिएको बताए। त्यस्तै नेपाल-संयुक्त राज्य अमेरिका संसदीय मैत्री समूहको संयोजकमा डा. प्रकाशशरण महत, नेपाल-अष्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकमा गगनकुमार थापा, नेपाल-बेलायत संसदीय मैत्री समूहका संयोजकमा विराजभक्त श्रेष्ठ, नेपाल-जापान संसदीय मैत्री समूहका संयोजकमा डा. नारायण खड्का, नेपाल-चीन संसदीय मैत्री समूहको संयोजकमा नारायणकाजी श्रेष्ठ छन् । 

सभामुख घिमिरेले भने‚ ‘४१ समूहका संयोजकहरू तोकिएको छ। बाँकी तीन समूह बनाइसकेका छौँ। संयोजकमा केही मिलाउन बाँकी छ । सकेसम्म चाँडो मिलाउनेछौँ ।’

सभामुख घिमिरेले संसदीय मैत्री समूहले आफ्नो तोकिएको मुलुकसँगको सम्बन्ध विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त ग रे। 

Share