राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद फुकुवाको निम्ति आग्रह गरेका छन् ।
मंगलबार पार्टीका नेताहरुसहित सभामुख घिमिरेलाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका लामिछानेले मुद्दा अदालतको ढोकामा पुग्नेबित्तिकै जननिर्वाचित सांसद पद निलम्बन गर्न नमिल्ने बताएको जानकारी दिए ।
यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।
रास्वपाले एक महिनाअघि नै सभापति लामिछानेको निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाएको थियो । तर त्यो पत्रको सुनुवाई अहिलेसम्म नभएपछि पुनः सभामुखकहाँ गएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
सोमबार लामिछाने ६ महिनापछि पार्टी कार्यालयमा सभापतिकै हैसियतमा उपस्थित भएका थिए । पार्टी बैठकको अध्यक्षतासमेत गरेका उनले राज्यले राजनीतिक प्रतिशोध साँधेर आफूलाई दुःख दिएको बताएका छन् ।
त्यसक्रममा पार्टी कार्यालयमा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उनले सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएकोसमेत बताएका छन् ।
लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए । गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेका थिए । पछि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो ।















