भारतीय पूर्वकप्तान विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले क्रिकेटको सबैभन्दा लामो फर्म्याटबाट सन्न्यासको घोषणा गरेका हुन् ।
रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्न्यास लिएको केही दिनमा नै विराटले पनि सन्न्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्नो सन्न्यासबारे जानकारी दिए ।
सन् २०११ मा टेष्ट क्रिकेटमा डेब्यु गरेका उनले यो फर्म्याटले आफूलाई क्रिकेटमा धेरै कुरा सिकाएको बताए। उनी लेख्छन्, ‘१४ वर्षअगाडि मैले टेष्ट क्रिकेटमा डेब्यु गरेको थिएँ । मलाई यो फर्म्याटले धेरै अर्थमा परीक्षण, आकार दिने र पाठ सिकाउने काम रहेको छ, जुन मैले जिन्दगीभर लिएर अगाडि बढ्नेछु ।’
उनले सेतो जर्सीमा टेष्ट खेल्नु निकै फरक अनुभव रहेको बताए । ‘सेतो जर्सी, लामो फर्म्याट, सानो सानो समस्याहरु जुन सधैँ यादगार रहनेछ ।’
‘म यो फर्म्याटबाट टाढा जाँदैछु । यो मेरो लागि सहज थिएन । तर यो सही समय हो, मैले मेरो सबै थोक दिएँ । तर यसले मलाई मैले सोचेको भन्दा धेरै बढी दियो,’ विराटले निकै भावुक पोष्ट सेयर गर्दै लेखेका छन् ।
विराटले २०११ मा वेष्ट इन्डिजविरुद्ध टेष्ट क्रिकेटमा डेब्यु गरेका थिए । त्यसयता विराटले १२३ वटा खेल खेल्दै ९ हजार २३० रन बनाएका छन् । जसमा ३० वटा शतक र ३१ वटा अर्धशतक सामेल छन् ।
कोहलीले भारतलाई ६८ वटा टेष्ट खेलमा कप्तानी गरेका छन् । जसमा ४० खेल भारतले जितेको छ । यसअर्थमा उनी टेष्ट क्रिकेटमा सर्वाधिक सफल कप्तान हुन् ।
उनी पुरुष क्रिकेटमा टेष्ट क्रिकेटमा सर्वाधिक सफलको चौथो स्थानमा रहेका छन् । उनी ग्रेमी स्मिथ (५३ जित), रिक्की पोन्टिङ (४८ जित) र स्टिभ वाउ (४१ जित) पछि रहेका छन् ।
उनले गत जुनमा टी-२० फर्म्याटमा विश्वकप जित्दै टी(२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गरेका थिए ।
















