प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन् । प्रतिनिधि सभाको बैठकमा उनले भारत भ्रमणका बारेमा जानकारी दिन लागेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भारतसँगको सीमा विवाद समाधान गर्न बंगलादेश मोडल अपनाउन सकिनेबारे कुरा गरेको भन्दै जवाफ मागेको छ ।
चारदिने औपचारिक भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाललाई बंगलादेशसम्म पुग्ने बाटोको सट्टामा लिपुलेक–लिम्पियाधुरा भारतलाई दिन सकिने विकल्पमा कुरा भएको उल्लेख गरेका थिए ।
यस विषय कुरामात्रै भएको तर कुनै निष्कर्ष ननिस्किएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उक्त अभिव्यक्तिलाई लिएर एमालेले आइतबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर जवाफ मागेपछि प्रधानमन्त्री प्रचण्डले आज स्पष्ट पार्न लागेको उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।
भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता गरेर नेपाल र भारतबीच ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत सम्झौता गरेका थिए ।
सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले पनि अग्रसरता लिएका छन् । आइतबार प्रतिनिधिसभा अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका थिए । सभामुखले आइतबार साँझ नै फेरि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गरे ।
सभामुखसँगको संवादमा अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आज(सोमबार)को संसद्मा आफूले प्रस्टीकरण दिने बताए ।
सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीमार्फत् विपक्षी दलहरुलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेका थिए ।














