टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

Image

स्कटल्यान्डमा जारी टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्याण्डको टिटउड ग्लास्गोमा नेपाली समयअनुसार बिहीबार बेलुकी पौने ८ बजे खेल दुई देशबीचको खेल हुनेछ ।

जारी सिरिजमा नेपाल र नेदरल्याण्ड्स दोस्रोपटक भिड्न लागेका हुन् । पहिलो खेलमा नेपाल सुपरओभरमा पराजित भएको थियो । सोमबार राति तीन वटा सुपरओभर हुँदा तेस्रो सुपर ओभरमा नेपाल पराजित भएको थियो । तेस्रो सुपर ओभरमा नेपालले रन बनाउन नसक्दा पराजित हुन पुगेको थियो ।

सिरिजमा भने नेपालको यो तेस्रो खेल हो । नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो । गएराति नेदरल्याण्डले पनि स्कटल्याण्डलाई १७ रनले पराजित गरेको थियो । नेपालले पुनः स्कटल्याण्डसँग भोलि खेलेपछि सिरिज सकिनेछ ।

नेपाल र नेदरल्यान्ड्सबीच यो सिरिजअघि टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म १३ खेलमा प्रतिस्पर्धा भइसकेको छ । जसमा नेपालले ५ खेल जित्दा ७ खेलमा नेदरल्यान्ड्स विजयी भएको छ । एक खेलमा नजिता आएको छैन ।

पछिल्लो पटक नेपाल र नेदरल्यान्ड्सबीच गत वर्षको टी-२० विश्वकपमा प्रतिस्पर्धा भएको थियो । अमेरिकाको डलासमा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरषेको थियो ।

यो सिरिज आइसिसी विश्वकप २०२६ को छनोटका लागि तयारीको रुपमा नेपालले लिएको छ । एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि यसअघि नै तयारी थालेको थियो। यसअघि नेपालले गत चैतमा हङकङमा भएको चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो ।

नेपाली टोली – कुशल भुर्तेल, लोकेश बम, अनिल साह (विकेटकिपर), रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, किरणकुमार ठगुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी