प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसद भवनको निर्माणाधीन प्रतिनिधि सभा हलमा राखिएका सिट तथा संरचनाबारे आपत्ति जनाएको छ।बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक ऐन महर ले नयाँ संसद हलको डिजाइन प्रतिनिधि सभाको गरिमाअनुसार नभएको टिप्पणी गरे।
उनले निर्माणाधीन हलमा राखिएका सिटहरू फिल्म हलको शैलीमा बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरे। “त्यो सभाहल प्रतिनिधि सभाको हल हो, त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन्,” उनले भने, “सिटहरू फिल्म हलजस्तो बनाइएको छ।”
महरले हलभित्र राखिएका टेबलहरू पनि कक्षाकोठामा प्रयोग हुने शैलीका देखिएको भन्दै संसदको मर्यादा झल्किने गरी संरचना निर्माण गर्नुपर्ने बताए। “सभाहल जस्तो छैन, फिल्म हलजस्तो बनाउने कोसिस गरिएको छ। त्यसलाई ध्यान पुगोस्,” उनले भने, “त्यसलाई प्रतिनिधि सभाको गरिमामय हलजस्तो बनाइयोस्।”
यसअघि निर्माणको अन्तिम चरणमा पुगेको नयाँ प्रतिनिधि सभा हलको सभामुख डोलप्रसाद अर्याल ले निरीक्षण गरेका थिए।सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने जेठ १५ गतेको संसद बैठक यही नयाँ हलबाट सञ्चालन गर्ने तयारी गरेको छ।
















