नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा सरकारले प्रस्तुत गर्ने बजेट, समितिको जिम्मेवारीलगायत विषयमा छलफल हुने कांग्रेसकी प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् । संसदीय दलको बैठकपछि निर्णयबारे पार्टीलाई जानकारी गराउने उनको भनाइ छ । सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै छ ।
सरकारले यसपटक दलका नेतासँग बजेटको विषयमा राय–सुझाव लिएको छैन । प्रतिनिधिसभा सदस्यमा पनि प्रत्यक्ष र समानुपातिक सांसदलाई योजना पेस गर्ने विषयमा विभेद गरेको उनले बताइन् ।
“समानुपातिकलाई एउटा अनि प्रत्यक्ष तर्फबाट आउनुभएकालाई ३ वटा योजना पेस गर्न भनिएको थियो,” उनले भनिन्, “त्यो नमाने पनि हामीले १०-२० वटै योजना बुझाइसकेका छौँ । अहिलेको सरकारले प्रत्यक्ष र समानुपातिकलाई गर्ने व्यवहार नै फरक छ ।”
बिहीबारको बैठकमा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल हुने उनको भनाइ छ ।
















