लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सभाको आठौँ अधिवेसनको आठौँ बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्तीमगरले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।
बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट निर्माण गर्ने स्पष्ट पारेका थिए।
विपक्षी दलका नेता जोखबहादुर महराले विशेष समयमा सम्बोधन गरेका थिए। आजको बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
उक्त प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राखेका थिए भने मन्त्री तिमिल्सिनाले जवाफ दिएका थिए। यसैगरी बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेश सभामा पेश गरेका छन्। आगामी बैठक सूचनाद्वारा जानकारी गराइने जनाइएको छ।
















