भदौ १० गते आएको बाढीले बगाएको एक सातापछि चीनले नेपालसँगको केरुङ सीमा नाका जोड्ने एकमात्र जी २१६ राष्ट्रिय राजमार्ग पूर्ण रूपमा खुलाएको छ ।
सिंगापुरको सीएनए समाचार संस्थाका अनुसार सडक सम्पर्क पुनः स्थापित भएसँगै मुख्य विपद्ग्रस्त क्षेत्रमा पहिलोपटक ठूला र भारी मेसिनहरू पुर्याउन सहज भएको छ ।
भीर, भत्किने जोखिममा रहेका डाँडा र तीव्र गतिमा बगिरहेको नदीको साँघुरो खोँचमा अहोरात्र काम गरी उद्धार टोलीहरूले जी२१६ राजमार्गको जग निर्माण गरेर सडक सुचारु गरेको बताइएको छ । बुधबार सडक खुल्नुअघि हेलिकोेप्टरमार्फत उद्धार सामग्री र उपकरणहरू एयरड्रप गरिएको थियो ।
चिनियाँ सीमा भन्सार कम्प्लेक्स पुरिएको स्थानमा दर्जानौँ एक्स्क्याभेटर र भारी मेसिनहरू पुगिसकेको बताइएको छ । पुरिएका व्यक्तिहरू पत्ता लगाउने प्रविधि र तालिम प्राप्त कुकुरहरूसहितका उद्धार टोलीहरूलाई खोँच, नदी किनार र ध्वस्त भएका पूर्वाधार क्षेत्रमा बेपत्ताहरूको खोजका लागि खटाइएको छ ।
तिब्बत क्षेत्रमा हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । २३ देशका २६१ विदेशी नागरिकसहित कुल ५४६ जना अझै बेपत्ता छन् । नेपालमा भने बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या बुधबारसम्म एक हजार एक सय नाघेको छ ।
माथिल्लो तटीय क्षेत्रमा बनेका तालहरूमा पानीको मात्रा घटेकाले फुट्ने जोखिम केही कम भए पनि, खुकुलो भूभागका कारण थप पहिरो खस्ने जोखिम अझै कायमै रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।














