चीनको कैलाश मानसरोवर गएका तीन हजारमध्ये २५०० जना हिल्सा र तातोपानी नाका हुँदै फर्किएका छन् ।
परराष्ट्र मन्त्रालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । कैलाश मानसरोवर जाने र फर्कने अधिकांश तीर्थयात्री रहेको मन्त्रालयले जनाएको छ ।“विपद्को समयमा माउन्ट कैलाश जाँदै गरेका र फर्किँदै गरेका अनुमानित तीन हजार जनामध्ये करिब २५ सय जना (मुख्यतः तीर्थयात्री) हिल्सा र तातोपानी नाका भई फर्किएका छन्,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।
बाँकी मानिसहरूलाई ल्याउन पनि सहजीकरण भइरहेको र केही मानिसहरू ल्हासाबाट हवाई मार्ग हुँदै फर्किँदै गरेको उनले जनाए।“चीन सरकारले अन्य नेपाल–चीन सीमा नाकाहरू भई नेपाली तथा विदेशी नागरिकहरूको फिर्तीमा सहजीकरण गरेको छ,” प्रवक्ता पौडेलले बताए ।
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवागढी–केरुङ नाका लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति गरेपछि कैलाश मानसरोवर गएकाहरूलाई अन्य सीमा नाकाबाट फर्काइएको हो ।














