प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसमक्ष अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसीसी०सँग भएको सम्झौता अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको करिब दुई घण्टा लामो वार्तामा ठोस सहमति नभई नेताहरु आ-आफ्ना अडान राखेर छुटेका छन् । भेटमा अध्यक्ष ओलीले एमालेले ६ महिनादेखि कुनै पनि संसदीय प्रक्रियामा सहभागी नभएको कारण आफ्नो माग पूरा नहुन्जेल सहयोग हुन नसक्ने जानकारी गराएका थिए ।
‘भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो,’ एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ ।’
एमसीसीमा एमालेलाई प्रयोग गर्ने र हानिकारक गठबन्धन कायमै राखेर आफ्नो पार्टीमाथि प्रहार गर्ने दोहोरो नीति नलिन प्रधानमन्त्रीलाई एमालेले प्रष्ट रुपमा भनेको छ ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै त्यसको विरोधमा संसद्मा नाराबाजी गर्दै आएको छ । भेटवार्ता अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका थिए । यस्तै कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी थिए ।













