राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाहीले थप जिम्मेवारी पाएका छन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी दिएका हुन् । गत शुक्रबार शाही राप्रपामा प्रवेश गरेका थिए। फागुन ६ गते शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली’ अभियानको सिंगो कमिटी राप्रपामा समाहित भएको थियो ।
समान विचार तथा सिद्धान्त बोकेर हिँडेका शक्तिहरूलाई एक ठाउँमा ल्याउने पार्टीको अभियानका क्रममा शाहीसहित उनको अभियानलाई राप्रपामा प्रवेश गराइएको थियो । अध्यक्ष लिङ्देनले आफू निर्वाचितपछि राप्रपाको पहिलो बैठकबाट समान विचार र सिद्धान्त बोकेका शक्तिसँग एकता अभियान चलाउने निर्णय गरेका थिए।
महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा समिति बनेको थियो। त्यो समितिले केही दिनअघि शाहीको अभियानसँग वार्ता गरी एकता प्रस्ताव गरेको थियो । पार्टी पदाधिकारी बैठकले प्रस्ताव अनुमोदन गरेसँगै शाही र उनको अभियान राप्रपामा मिसिएको थियो ।















