काठमाडौं । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले भाडा समायोजनको माग गरेका छन् । उनीहरुले सरकारले भाडा नबढाए आफैं सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने चेतावनी समेत दिएका छन् । डिजल पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् ।
सरकारले बिहीबार राति मात्रै पेट्रोल र डिजलमा ५/५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजल प्रतिलिटर १३३ रुपैयाँ पुगेको हो ।
पेट्रोलियमको मूल्यवृद्धि र गाडी भाडा वृद्धिको मार भने सार्वजनिक सवारीका प्रयोगकर्ताहरुलाई पर्ने अवस्था आएको छ ।सरकारले भाडा समायोजनमा बेवास्ता गरेर आफैंले भाडा समायोजन गरेर उठाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चेतावनी दिएको छ ।
सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पेट्रोलियमको मूल्य समायोजनको समयको तुलनामा प्रतिलिटर २५ रुपैयाँ महँगिएकाले गाडी चलाउँदाको लागत उठ्न छाडिसकेको दावी गर्छन् ।















