‘भ्युटावर चाँहि बन्ने, त्रिचन्द्र नबन्ने’

काठमाडौं । त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण र आवश्यक पूर्वाधार निर्माणको माग गर्दै नेविसंघले मंगलबार बिहान प्रदर्शन गरेको छ । विद्यार्थीहरूले क्याम्प अगाडीको सडकमै बसेर पढ्दै विरोध गरेका हुन्।

भूकम्पबाट क्षति पुगेको लामो समय हुँदा पनि क्याम्पस भवन पुनर्निर्माणमा चासो नदेखाएको भन्दै बिद्यार्थीहरुले सडकमै पढेर ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले ‘भवन पुनर्निर्माण गर’, ‘हामी पढ्न चाहन्छौं’, ‘भ्युटावर चाहि बन्ने त्रिचन्द नबन्ने’, ‘इतिहास ढल्दैछ, सरकार मौन छ’, ‘शिक्षा मन्त्रालय हराएको सूचना’लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेपालको इतिहासकै रुपमा रहेको त्रिचन्द्र क्याम्पसको भवन पुनर्निर्माणमा सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको विद्यार्थीहरुको भनाइ छ । १०४ वर्षको इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको अवस्था दयनीय बनेपछि विद्यार्थीहरु क्याम्पस बचाउ अभियानमा लागेका हुन् । २०७२ सालको भूकम्पले भत्काएको त्रिचन्द्र क्याम्पसको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ  । त्रिचन्द्र क्याम्पसको घन्टाघरतर्फको भवन १९७५ सालमै बनेको थियो ।