बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थापालाई प्रहरीले गत शुक्रबार साँझ कपनबाट पक्राउ गरेको थियो । 

ओली सरकारमा बादल गृहमन्त्री हुँदा प्रतीकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहको सदस्यका रूपमा काम गरेको प्रहरी प्रतिवेदनको निष्कर्ष छ ।

अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।