बालुवाटारमा प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ ।

बिहीबार बिहान करिब साढे १० बजेदेखि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

ओली र प्रचण्डबीच भेटवार्ता चलिरहँदा भर्खरै कांग्रेस सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका स्रोतले जनाएको छ । ओली र प्रचण्डबीच झण्डै २० मिनेट कुराकानी चलेपछि देउवा पनि पुगेका हुन् । अहिले तीन नेताबीच छलफल चलिरहेको छ ।

प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप चलिरहेको छ । यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यस्तै, सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ । त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन् । यही मेसोमा शीर्ष नेताबीचको भेटघाटलाई अर्थपूर्ण मानिएको छ ।