फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) को सम्मानार्थ साम्बाचोक स्थापना गरिएको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा) को सम्मानार्थ साम्बाचोक नामकरण र उक्त चोकमा साम्बा स्तम्भ निमार्ण गरिएको हो ।
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका-९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ्गले जेठ ५ गते उद्घाटन गरेका हुन् ।
नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा) पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबल खेलाडी बन्न पुगेकी छन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा आबद्ध छन् ।
उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९ का वडा अध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
साथै कार्यक्रममा साम्बाका बुवा आमालाई समेत सम्मान गरिएको थियो ।
















