नेपाली फाइटर रवीन्द्र ढाट भारतको एमएफएन-१७ मा बेन्टामवेट च्याम्पियन

Image

नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले भारतको प्रतिष्ठित म्याट्रिक्स फाइट नाइट (एमएफएन)–१७ मा ऐतिहासिक सफलता हात पार्दै बेन्टामवेट च्याम्पियनको उपाधि जितेका छन्।

शनिबार भारतको नोएडामा आयोजित फाइनल प्रतिस्पर्धामा ढाटले भारतका नम्बर वान फाइटर चेग्रोन कोरेनलाई तेस्रो राउन्डमा नकआउट (केओ) गर्दै उपाधि कब्जा गरेका हुन्।

ढाटले ‘लक एन्ड रोल’ एमएमए नेपाल टिमको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका थिए। उनका लागि यो जित केवल व्यक्तिगत सफलता मात्र नभई नेपाली एमएमए खेल क्षेत्रकै लागि गौरवको क्षण बनेको छ।

हाल रवीन्द्र ढाट एसिया–प्रशान्त क्षेत्रका २२८ औं स्थानमा रहेका एमएमए फाइटर हुन्। उनी दक्षिणपूर्व एसियाको उप–क्षेत्रीय वरीयतामा समेत समावेश छन्, जसले उनको अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली उपस्थिति देखाउँछ।

ढाटको यस जितले नेपाली एमएमए खेलाडीहरूको क्षमता र सम्भावनालाई पुनः एकपटक अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गराएको छ।