पोखराको सभागृह चोक नजिक बुधबार साँझ भएको ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या प्रकरणमा प्रहरीले उनकै भाञ्जालाई पक्राउ गरेको छ। घटनामा प्रयोग गरिएको धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेर फरार भएका भाञ्जालाई प्रहरीले नियन्त्रणमा लिएको हो . घटनामा संलग्न मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पोखरा महानगरपालिका–५, जीरोकिलोमा व्यवसाय गर्दै आएकी सिर्जनाको सभागृह चोक र सिर्जनाचोकको बीचमा अन्ध्यारोको मौका छोपेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। प्रहरीका अनुसार पक्राउ परेका युवक यसअघि पनि लागुऔषध, अभद्र व्यवहार र चोरीजस्ता विभिन्न अभियोगमा पटक–पटक प्रहरी हिरासतमा परिसकेका व्यक्ति हुन्।
रेकी गरेर हत्या
प्रहरी अनुसन्धानका अनुसार घटनामा संलग्न व्यक्तिहरूले दिउँसैदेखि सिर्जनाको गतिविधिमाथि निगरानी गर्दै रेकी गरेका थिए। उनीहरूले सिर्जनाको पसल अगाडिको चिया पसलमा बसेर निगरानी गरेको र पछि पछ्याउँदै सभागृह चोकतर्फ पुगेको पाइएको छ।
घटनास्थल आसपासका सटरहरू बन्द हुँदै गइरहेको र बत्ती पनि कम भइरहेको मौका छोपेर उनीहरूले धारिलो हतियार प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ।
पर्याप्त सिसीटिभी फुटेज नभएकाले सुरुवाती चरणमा अभियुक्त पहिचान गर्न प्रहरीले कठिनाइ भोग्नुपरेको थियो। तर अनुसन्धानलाई परिवारतर्फ केन्द्रित गर्दै बयान र प्रमाणहरू संकलन गर्दा घटनामा संलग्न व्यक्तिसम्म प्रहरी पुग्न सफल भएको हो।
‘हेपेर बोल्ने’ कारण हत्या गरेको बयान
प्रहरीको प्रारम्भिक अनुसन्धान र बयानअनुसार पक्राउ परेका भाञ्जाले सिर्जनाले आफूलाई बारम्बार हेप्ने र अपहेलित गर्ने गरेको कारण आवेशमा आएर हत्या गरेको बताएका छन्। तर प्रहरीले यो घटनामा केवल व्यक्तिगत आवेग मात्र नभई परिवारभित्रै अन्य सदस्यको पनि योजना हुन सक्ने आशंकासहित थप अनुसन्धान अघि बढाइरहेको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले परिवारकै तीन जनालाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएर बयान लिएको थियो। पारिवारिक कलह, अंश विवाद र सम्पत्तिसम्बन्धी मुद्दालाई पछ्याउँदै जाँदा अनुसन्धानको सुई परिवारभित्रै केन्द्रित भएको हो।
सिर्जनाको सबैभन्दा ठूलो विवाद सौतेनी छोरासँग भएको खुलेको छ। तर उक्त छोरा हाल ब्राउन सुगरसहित पक्राउ परेर लागुऔषध कारोबारसम्बन्धी मुद्दामा कारागारमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले कारागारमा रहेका छोरासँग पनि सिर्जनाको सम्पत्ति विवाद रहेको र उक्त अंश मुद्दा अहिले अदालतमा विचाराधीन रहेको जानकारी दिएको छ। यही कारण घटनामा उनको पनि कुनै योजना हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान जारी राखेको छ।
पारिवारिक पृष्ठभूमि र सम्पत्ति विवाद
सिर्जनाका श्रीमान् कृष्णले पहिलो श्रीमती गुमाएपछि सिर्जनालाई दोस्रो श्रीमतीका रूपमा विवाह गरेका थिए। पहिलो श्रीमतीले विष सेवन गरेर आत्महत्या गरेको घटना पनि परिवारभित्रको विवादसँग जोडिएको आशंका गरिएको छ।
‘आमाको मृत्यु भएको एक वर्षपछि बाबुले सिर्जनालाई विवाह गरेपछि छोराछोरीलाई बाबु सिर्जनासँग लागेकै कारण आमाले विष सेवन गरेकी हुन् भन्ने लागेको रहेछ,’ प्रहरी स्रोतले बतायो, ‘त्यसपछि परिवारभित्र निरन्तर विवाद र कलह सुरु भएको देखिन्छ।’
करिब दुई वर्षअघि कृष्णको पनि मृत्यु भएपछि परिवारभित्रको विवाद झन् चर्किएको थियो। कृष्ण पोखराको मालेपाटन क्षेत्रमा खसीबोकाको ताजा मासु बेच्ने व्यवसायीका रूपमा चिनिन्थे। उनले सोही व्यवसायबाट पोखरामै दुईवटा घरसहित अन्य जग्गाजमिन र सम्पत्ति जोडेको बताइएको छ।
उनका जेठी श्रीमतीपट्टि दुई छोरी र एक छोरा छन्। छोरा हाल लागुऔषध कारोबार मुद्दामा कारागारमा छन्। दुई छोरीमध्ये एकको विवाह भइसकेको छ भने अर्की अविवाहित छिन्। सिर्जनाका माइती पक्षले पनि हत्यामा परिवारकै सदस्य संलग्न हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धान गर्न प्रहरीमाथि दबाब दिँदै आएका थिए।














