संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको हो ।
संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल (प्रिबजेट छलफल) लाई निरन्तरता दिइनेछ । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची तय गरिएको छ ।
बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ ।
राष्ट्रिय सभाको बैठकमा पनि समान कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रिबजेट छलफल सम्पन्न भएपछि सरकारले आगामी जेठ १५ गते आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।
















