भेपमार्फत सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा १ लाख धरौटीमा रिहा

Image

विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले विद्युतीय चुरोट (भेप)भित्र लुकाइएका सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका महरालाई उक्त धरौटीमा छोड्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ चैत, २०८२ मा महरा, उनका छोरा राहुलसहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भएको भनिएको सुन तस्करीमा उनीहरूले सहयोग गरेको आरोप छ।

अख्तियारको आरोपअनुसार १० पुस, २०७९ मा फ्लाई दुबईको उडानमार्फत चिनियाँ नागरिक ली हाङ सोङले दुई वटा सुटकेसमा ७३ वटा बट्टामा ७३० वटा इलेक्ट्रोनिक सिगरेट (भेप) ल्याएका थिए। ती भेपभित्र सुन लुकाइछिपाइ नेपाल भित्र्याइएको र त्यसको तस्करीमा भन्सार कर्मचारीहरूसमेतको मिलेमतो रहेको दाबी गरिएको छ।

शंकास्पद सामानको उचित भौतिक जाँच नगरी लापरवाही गरिएको, गोदाममा राखिनुपर्ने सामानलाई प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा राखिएको तथा तस्करी समूहसँग अस्वाभाविक सम्पर्क र भेटघाट भएको भन्दै अख्तियारले महरा लगायतमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अदालतको आदेशसँगै महरा एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।