राप्रपामा ठूलो विद्रोह, धवलशमशेरसहित १८३ नेता–कार्यकर्ताले गरे पार्टी परित्याग

Image

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा विस्फोट भएको छ। पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा विभिन्न तहका नेता–कार्यकर्तासहित १८३ जनाले संयुक्त रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।बुधबार सार्वजनिक गरिएको संयुक्त घोषणापत्रमा उनीहरूले राप्रपाको मूल विचार, संवैधानिक राजसंस्थासहितको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धता र पार्टी स्थापनाको उद्देश्यप्रति आफूहरू अझै दृढ रहेको बताएका छन्। तर, वर्तमान नेतृत्वले पार्टीको वैचारिक आधार, एकता महाधिवेशनको मर्म तथा लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको आरोप लगाएका छन्।

घोषणापत्रमा राप्रपाको एकता महाधिवेशनले पार्टीभित्र नयाँ ऊर्जा, उत्साह र सम्भावनाको ढोका खोलेको भए पनि नेतृत्वको हिनभाव, कमजोरी तथा आत्मकेन्द्रित कार्यशैलीका कारण ती सम्भावनाहरू क्रमशः समाप्त हुँदै गएको उल्लेख गरिएको छ। उनीहरूले नेतृत्वले केन्द्रीय कार्यसमिति तथा पार्टीका अन्य संरचनाहरूलाई निष्क्रिय बनाउँदै एकल निर्णयको अभ्यासलाई बढावा दिएको आरोप समेत लगाएका छन्।

पार्टीले अघि सारेको संवैधानिक राजसंस्था पुनर्स्थापनाको मूल एजेन्डाबाट नेतृत्व विचलित भएको, संगठनभित्र आन्तरिक लोकतन्त्र र जवाफदेहिताको अवस्था कमजोर बनेको तथा विधानविपरीत गतिविधि बढ्दै गएको दाबी घोषणापत्रमा गरिएको छ। यस्ता गतिविधिका कारण पार्टी जनताबाट टाढिँदै गएको र पछिल्ला निर्वाचनहरूमा अपेक्षित सफलता हासिल गर्न नसकेको उनीहरूको निष्कर्ष छ।

घोषणापत्रमा वर्तमान नेतृत्वबाट पार्टी सुधारको सम्भावना नदेखिएको उल्लेख गर्दै पार्टीसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी र भूमिकाबाट अलग हुने निर्णय गरिएको जनाइएको छ।पार्टी परित्याग गर्ने नेताहरूमा पूर्वमन्त्री तथा राप्रपाका प्रभावशाली नेता डा. धवलशमशेर राणा, मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, प्रवक्ता सगुनसुन्दर लावतीलगायतका नेता रहेका छन्। सूचीमा केन्द्रीय सदस्यदेखि प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनका पदाधिकारीहरूको समेत उल्लेख गरिएको छ।