कृषि सामग्री कम्पनी लिमिटेडका विभिन्न जिल्लास्थित वितरण व्यवस्था महाशाखाहरूबाट झन्डै १० करोड केजी रासायनिक मल नउठेको पाइएको छ ।
कृषि कम्पनीको जिल्ला शाखा कार्यालयमा रहेको ९ करोड ८२ लाख ३५ हजार ४५० किलो रासायनिक मल नउठेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । जिल्लास्थित शाखा कार्यालयमा केन्द्रले मल पठाए पनि उठ्न नसक्दा किसानले समयमा मल प्राप्त गर्न सकेको अवस्था देखिँदैन ।
कोसी प्रदेशका शाखा कार्यालयमा एक करोड १९ लाख ५४ हजार ५०० केजी युरिया मल मौज्दात रहेको छ भने, डीएपी २० लाख ९२ हजार ६०० केजी मौज्दात छ । यस्तै, पोटास ३२ लाख ४८ हजार ८५० केजी मौज्दात रहेको कम्पनीको तथ्यांक छ । तर, शाखा कार्यालयबाट उठ्न सकेको अवस्था देखिँदैन ।
यस्तै, मधेस प्रदेशको शाखा कार्यालयबाट पनि रासायनिक मल नउठाएको अवस्था छ । यो प्रदेशमा विभिन्न शाखा कार्यलयमा ३ करोड ११ लाख ३१ हजार २०० केजी युरिया, एक करोड १४ लाख ५६ हजार २०० केजी डीएपी र ५५ लाख ८४ हजार ६०० केजी पोटास मल मौज्दात छ ।
यस्तै, वाग्मती प्रदेशमा ४० लाख ९३ हजार ३०० केजी युरिया, पाँच लाख ९९ हजार १५० केजी डीएपी र दुई लाख ५१ हजार ७५० केजी पोटास मौज्दात रहेको कृषि कम्पनीको तथ्यांक छ ।
गण्डकी प्रदेशका जिल्ला शाखाहरूमा चार लाख ६ हजार ६५० केजी युरिया, एक लाख ३० हजार ८०० केजी डीएपी र ६१ हजार ८०० केजी पोटास मौज्दात छ । तर, यहाँबाट पनि मल नउठाइएको अवस्था छ ।
यसैगरी, लुम्बिनी प्रदेशका जिल्ला कार्यालयमा एक करोड ५० लाख ३५ हजार ८५० केजी युरिया, ४६ लाख ४३ हजार ९०० केजी डीएपी र ४४ लाख १२ हजार ४०० केजी पोटास मौज्दात छ ।
कर्णाली प्रदेशका कृषि कम्पनीका जिल्ला शाखामा दुई लाख १२ हजार २५० केजी युरिया, ७४ हजार ६५० केजी डीएपी, ४८ हजार ९५० केजी पोटास मौज्दात छ ।
यस्तै, सूदूरपश्चिम प्रदेशस्थित कृषि कम्पनीका जिल्ला शाखामा २४ लाख ५४ हजार १०० केजी युरिया, दुई लाख ९३ हजार २५० केजी डीएपी र चार लाख २३ हजार २०० केजी पोटास मौज्दात छ ।















