मलको कोटा ठूलो, आपूर्ति न्यून

Image

धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले साउन १ देखि २६ गतेसम्म १ हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डीएपी बिक्री गरेको छ। यस अवधिमा कम्पनीले ३३.२५ मेट्रिक टन पोटाससमेत बिक्री गरेको जनाएको छ।

प्रादेशिक कार्यालयका प्रबन्धक नवलसिंह बोगटीका अनुसार धानखेतीका लागि आवश्यक मल किसानसम्म पुर्‍याउने क्रममा उक्त परिमाणमा मल बिक्री गरिएको हो। धान रोपाइँको मुख्य समयमा मलको माग बढ्ने भएकाले कम्पनीले सहकारी तथा कृषि सामग्री बिक्री केन्द्रमार्फत किसानलाई मल उपलब्ध गराउँदै आएको छ।

कम्पनीमा हाल ११०.२५० मेट्रिक टन युरिया, ३१ मेट्रिक टन डीएपी र ९३.६५० मेट्रिक टन पोटास मौज्दात छ। बिक्री र मौज्दात जोड्दा युरिया १ हजार ३९७.९५५ मेट्रिक टन तथा डीएपी ३२६.७ मेट्रिक टन पुगेको छ।

धनगढीका लागि युरियाको आवश्यक कोटा १ हजार ९४७.७०५ मेट्रिक टन र डीएपीको १ हजार ९१५.८१५ मेट्रिक टन रहेको प्रबन्धक बोगटीले बताए।

आवश्यक कोटासँग तुलना गर्दा बिक्री तथा मौज्दातमा रहेको युरिया करिब ७२ प्रतिशत पुगेको छ भने डीएपी करिब १७ प्रतिशत मात्रै छ। कम्पनीका अनुसार आवश्यक कोटाको तुलनामा युरियामा ५४९.७५५ मेट्रिक टन र डीएपीमा १ हजार ५८९.११५ मेट्रिक टन कमी देखिएको छ।

धानखेतीका लागि मलको माग उच्च रहेका बेला विशेषगरी डीएपीको आपूर्ति कमजोर हुँदा किसानले मल पाउन समस्या भोग्नुपरेको छ। उपलब्ध मल बिक्री भइरहे पनि मागअनुसार आपूर्ति अझै बढाउनुपर्ने अवस्था रहेको कम्पनीले जनाएको छ।