सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। संसद् सचिवालयका अनुसार बैठकमा रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिका सम्बन्धमा सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
विशेष प्रस्तावमार्फत सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नेछन्। बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार तथा देवीघाटलगायत त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको प्रस्तावमा २०८३ साल भदौ १० गते बुधबार आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको उल्लेख छ। घटनामा स्वदेशी तथा विदेशी नागरिकसमेत बेपत्ता हुनुका साथै ठूलो सङ्ख्यामा मानवीय क्षति भएको प्रस्तावमा जनाइएको छ।
विशेष प्रस्तावमा बाढीबाट घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, बाढीमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा उक्त विशेष प्रस्ताव प्रस्तुत भएपछि बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा समेत सांसदहरूले सरकारको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।












