प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। सङ्घीय संसद् सचिवालय स्रोतका अनुसार दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा अहिले पनि उद्धार, खोजी तथा राहतका काम जारी छन्।
उपलब्ध विवरणअनुसार हालसम्म १ हजार ११३ जनाको शव फेला परिसकेको छ भने ४ हजार ८५८ जना सम्पर्कविहीन रहेको जनाइएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायत जिल्लाका विभिन्न क्षेत्र प्रभावित भएका छन्।
बाढीपछि प्रधानमन्त्री शाहले राष्ट्रका नाममा औपचारिक सम्बोधन गरेका छैनन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उद्धार, राहत तथा बाढीबाट भएको क्षतिबारे नियमित जानकारी दिँदै आएका छन्।
आजको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी–त्रिशूली बाढी र त्यसबाट भएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत रहेको छ।
प्रधानमन्त्री शाहको संसद् सम्बोधनमा बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र सरकारका आगामी कदमबारे जानकारी आउने अपेक्षा गरिएको छ।













