चीनले एक सातामै मर्मत गर्‍यो केरूङ जोड्ने राजमार्ग

Image

चीनले तिब्बतमा बाढी र पहिरोका कारण क्षतिग्रस्त केरूङ जोड्ने मुख्य राजमार्ग एक सातामै मर्मत गरी सञ्चालनमा ल्याएको छ।

गत साता आएको भीषण बाढी तथा पहिरोले नेपालसँगै तिब्बत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीका कारण केरूङ जोड्ने मुख्य सडकसमेत क्षतिग्रस्त भएपछि विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन कठिनाइ भएको थियो।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार क्षतिग्रस्त जि२१६ राष्ट्रिय राजमार्ग बुधबार बिहानदेखि सञ्चालनमा आएको हो। राजमार्ग खुलेसँगै ठूला सवारीसाधन तथा भारी उद्धार उपकरण विपद्को मुख्य क्षेत्रमा पुर्‍याउन थालिएको छ।

चाइना मिडिया ग्रुप (सीएमजी) का अनुसार राजमार्ग सञ्चालनमा आएपछि उद्धारकर्मीलाई विपद्को केन्द्रसम्म थप गहिराइमा पुगेर खोज तथा उद्धार गर्न सहज भएको छ।