तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले उनीसँग बयान लिएको छ । समितिले मंगलबार र बुधबार गरी दुई दिन गुरुङसँग बयान लिएको हो । समिति स्रोतले गुरुङसँग बयान लिएको पुष्टि गरेको छ ।
‘हामीले बयान लिइसकेका छौं । बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ ।
मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।
समितिले गुरुङसँग बयान लिएसँगै छानबिन अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रतिवेदन बुझाउने तयारी भइरहेको समिति स्रोतले बतायो । अहिले प्रतिवेदन लेखन कार्य चलिरहेको र त्यसलाई अन्तिम रूप दिएर सरकारलाई बुझाइने भनिएको छ । समितिलाई दिइएको १५ दिनको समय सकिन लागेकाले प्रतिवेदनको हतारो रहेको समितिले जनाएको छ ।
यसअघि समितिका अध्यक्ष भण्डारीले स्पष्ट किटान गरेर प्रतिवेदन बुझाइने बताएका थिए । दोषी, निर्दोष जे भए पनि प्रमाणले पुष्टि गरेर स्पष्ट किटान गरेर प्रतिवेदन बुझाइने उनको दाबी थियो ।
















