माथिल्लो त्रिशूली-१: ५५७ जना सम्पर्कविहीन, ११५ जना सुरुङमा फसेको अनुमान

Image

रसुवा भोटेकोसीको बाढीका कारण त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत ५५७ जना सम्पर्कविहीन छन्।

आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ८७६ जना उद्धार गरिएको र सम्पर्कविहीनमध्ये झन्डै ११५ जना हेडवर्क्स क्षेत्र तथा मुख्य सुरुङभित्र फसेको आशंका गरिएको जनाएको हो।

अत्यन्त विकट भौगोलिक अवस्था, बाढीबाट भएको व्यापक क्षति, सुरुङभित्रको जोखिम तथा थप पहिरोको सम्भावना, प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको कम्पनीको भनाइ छ।

‘कम्पनीले आफैं तथा सरकारका सम्बन्धित निकायहरुसँगको समन्वयमा उपलब्ध सबै स्रोत, साधन, प्रविधि तथा दक्ष जनशक्ति परिचालन गर्दै बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखी निरन्तरता दिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘खोजी तथा उद्धार कार्यका लागि कम्पनीको प्रयासमा कोरियाबाट विज्ञ एवम् उपकरणहरुसहित नेपाल ल्याई आयोजनास्थलमा परिचालन गरिएको छ।’

बाढीका कारण रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकु क्षेत्र तथा उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा समेत ठूलो धनजनको क्षति पुगेको छ।

उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत आयोजना हो।

कम्पनीका अनुसार २०८४ साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको बाँधस्थल,मुख्य सुरुङ, भूमिगत विद्युतगृहलगायतका सबै क्षेत्रमा पूर्णरूपमा काम भइरहेको थियो।

बाढीले आयोजनाको निर्माण सम्पन्न हुन लागेको बाँधलगायतका संरचना (हेडवर्क्स) र कार्यालय तथा आवास क्षेत्र पूर्णरूपमा बगाएको छ।

बाढी आउनुअघि पूर्वसूचना जारी गरिएको भए पनि अत्यन्त छोटो समयमा ठूलो बाढी तथा लेदो आयोजनास्थलमा प्रवेश गरेका कारण निर्माणस्थल तथा कार्यालयमा कार्यरत अधिकांश कर्मचारी तथा श्रमिक सुरक्षित स्थानतर्फ जान नसकेको अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ।