प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारका पछिल्ला गतिविधि तथा अन्य महत्वपूर्ण विषयमा गहन छलफल हुने बताइएको छ ।
विशेषगरी सरकारले बुधबार दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर मनोज कार्कीलाई नियुक्त गरेको विषयमा बैठकले पार्टीको धारणा तय गर्ने बुझिएको छ ।
यसका साथै पत्रकार पक्राउ तथा सञ्चारमाध्यममाथि गरिएको धरपकडलगायत सरकारका गतिविधिबारे पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।
कांग्रेसले यसअघि नै सरकारका गतिविधिविरुद्ध संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन माग गरिसकेको छ ।
आजको बैठकले यी विषयमा पार्टीको आगामी रणनीति र औपचारिक धारणा तय गर्ने अपेक्षा गरिएको छ ।














