पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन राजधानी बाहिरै ग्यास बोटलिङ गरी सिलिन्डर पठाउन थालिएको छ।
ग्यास बोकेका बुलेटहरू वैकल्पिक मार्गबाट समेत काठमाडौँ प्रवेश गर्न नसकेपछि विभिन्न उद्योगले अन्य जिल्लामा रहेका ग्यास उद्योगसँग समन्वय गरी सिलिन्डरमा ग्यास भरेर ट्रकमार्फत उपत्यका पठाउन थालेका हुन्।
साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नो ‘एसटिसी ग्यास’ वीरगञ्जस्थित मनोज ग्यास उद्योगमा भरेर काठमाडौँ पठाउन थालेको छ। चितवनको बाबा ग्यासले मंगलबार श्री ग्यासका १ हजार ५०० सिलिन्डर भरेर पठाएको सञ्चालक विमल कालाखेतीले जानकारी दिए। श्री ग्यासको प्लान्ट धादिङको नौबिसेमा रहेको छ।
त्यस्तै, चितवनकै साइबाबा ग्यासले आफ्ना ९०० सिलिन्डर काठमाडौँ पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका १ हजार २०० सिलिन्डर भरेर उपत्यका पठाएको छ।
गैँडाकोटस्थित जानकी ग्यास उद्योगले नौबिसेको श्रीराम ग्यासका सिलिन्डर भरेर पठाएको छ। हेटौँडाको साहारा ग्यास उद्योगमा काठमाडौँका एभरेष्ट र सुगम ग्यासका सिलिन्डर भरेर उपत्यका पठाउन थालिएको छ।
त्यसैगरी, बनेपाको सगरमाथा ग्यासले परासीस्थित चण्डी ग्यासमा सिलिन्डर भरेर पठाउन थालेको छ। बनेपाका लोकप्रिय, सुपर, तारा लगायतका ग्यास उद्योगले पनि राजधानी बाहिरका विभिन्न उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौँ पठाउन सुरु गरेका छन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्यसमेत रहेका कालाखेतीले भारतबाट नेपाल आउने ग्यासको आपूर्तिमा कमी नआएको बताए। बुलेटमार्फत ग्यास पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत राजधानी पठाइरहेकाले उपत्यकामा ग्यासको अभाव नहुने उनको दाबी छ।
उनका अनुसार गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन एलपी ग्यास नेपाल भित्रिएको थियो। यो हालसम्मकै उच्चमध्ये एक मात्रा भएको र सोही अनुपातमा ग्यास आयात भइरहेकाले आपूर्तिमा समस्या नहुने उनले बताए।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानी बाहिर रहेका उद्योगमा ग्यास भरेर उपत्यका पठाउन अनुमति दिएको छ।
उनका अनुसार उपत्यका तथा आसपासका जिल्लामा रहेका १६ ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उद्योगसँग समन्वय गरेर सिलिन्डर भरी उपत्यका पठाउन थालेका छन्।
उपत्यका र आसपासका जिल्लामा मात्रै देशभर खपत हुने एलपी ग्यासको करिब ४० प्रतिशत खपत हुने भएकाले सडक अवरुद्ध हुँदा राजधानीमा आपूर्ति प्रभावित हुने जोखिम हुन्छ। तर वैकल्पिक रूपमा अन्य जिल्लामा बोटलिङ गरेर सिलिन्डर पठाउन थालेपछि तत्काल ग्यास अभावको अवस्था नआउने व्यवसायीहरूले बताएका छन्।













