भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

Image

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। बाढीमा परी चार हजार २१६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बाढीपछि राहत तथा उद्धारसँगै सम्पर्कविहीनको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन्।

उनका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन भएका छन्। तीमध्ये नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार १९९ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना खोज तथा उद्धारमा खटिएका छन्।

सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढीका कारण कतिपय स्थानमा सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको प्राधिकरणले जनाएको छ।

बाढीमा परी हालसम्म १ हजार २०४ जनाको मृत्यु भएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला बाढीबाट प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार हालसम्म रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव भेटिएको छ।

सेनाबाट चार हजारभन्दा बढीको हवाई उद्धार

विपद्को समयमा नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ। सेनाले हालसम्म ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ।

खोज तथा उद्धारका क्रममा सेनाले हालसम्म ६९० पटक हवाई उडान गरेको छ। बुधबार मात्रै ८० वटा हवाई उडान गरिएको प्राधिकरणले जनाएको छ।

निजी क्षेत्रबाट समेत २९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग गरिएको छ। सडक सम्पर्कविच्छेद भएका तथा दुर्गम क्षेत्रमा हवाई माध्यमबाट नागरिकको उद्धार गर्नुका साथै राहत तथा अत्यावश्यक सामग्री पुर्‍याउने काम भइरहेको छ।

विभिन्न क्षेत्रका हजारौँ सम्पर्कविहीन

प्राधिकरणका अनुसार बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन्। त्यस्तै, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाबाट करिब ८६५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

नुवाकोटबाट १ हजार ५५८ जना, विदेशी नागरिक ५८३ जना तथा पर्यटकसँग गएका १६४ जना नेपाली पनि सम्पर्कविहीन छन्।

त्यस्तै, जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा मातहतका कर्मचारी ३२ तथा निजी विद्यालयका एक जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।