सात वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक : नाफामा उत्साहजनक सुधार

Image

वाणिज्य बैंकहरूमध्ये सातवटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। आज सोमबारसम्म प्रकाशित विवरणका आधारमा बैंकहरूको नाफा सुधारसँगै अधिकांश वित्तीय सूचकहरू पनि सकारात्मक देखिएका छन्। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म रहेको छ।

यसअघि त्रैमासिक सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था भए पनि चालू आवबाट भने १ महिनाको समय थप गरिएको थियो । सोही कारण ढिलो गरी चौथो त्रैमासिकको विवरण सार्वजनिक हुनथालेको हो ।

अहिलेसम्म माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक र सानिमा बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन्।

एभरेष्ट बैंक

एभरेष्ट बैंकको नाफा ३३ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ५५ करोड रूपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको हो।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन आम्दानीमा बढ्दा नाफा बढेको हो। बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको हो।

बैंकको सञ्चालन मुनाफा पनि ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरण योग्य मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ छ। यसबाट बैंकले ३८.२७ प्रतिशत लाभांश दिन सक्ने भएको छ।

बैंकको खराब कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा सीमित भएको छ। बैंकको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९९ पैसा छ। यस अघि यस्तो आम्दानी ३१ रूपैयाँ ४७ पैसा थियो। बैंकको प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा छ।

कुमारी बैंक

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यसअनुसार बैंकको खुद नाफा ४५ हजार ८२९ प्रतिशतले बढेर  २ अर्ब ११ करोड नाघेको छ।

अघिल्लो आर्थिक वर्ष जम्मा ४६ लाख रुपैयाँ नाफा कमाएको कुमारीले गत आवमा २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको हो।

बैंकको नाफामा उछाल आउनुको मुख्य कारण इम्पेरिमेन्ट चार्ज घटाउनु रहेको छ । यो बैंकले इम्पेरिमेन्ट चार्ज अन्तर्गत राखेको ६ अर्ब ८४ करोड रुपैयाँबाट २ अर्ब ७९ करोड रुपैयाँमा झारेको हो। 

कुनै पनि कर्जा खराब वर्गमा वर्गीकरण भएमा बैंकहरुले राष्ट्र बैंकको निर्देशनअनुसार शतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्थापन गर्नुपर्ने हुन्छ। यस्तो कर्जा असुली हुन थालेसँगै बैंकहरुले नोक्सानी व्यवस्थापनमा राखेको उक्त पैसालाई नाफामा देखाउन सक्ने व्यवस्था छ। कुमारीले पनि कर्जा असुल हुन थालेपछि इम्पेरिमेन्ट चार्जलाई घटाएर उक्त रकम नाफामा राख्दा ठूलो वृद्धि देखिएको हो।

बैंकले गत आवमा नाफाभन्दा बढी कर तिरेको छ। गत आवमा बैंकले खुद नाफा २ अर्ब ११ करोड गर्दा कर भने ३ अर्ब ६६ करोड रुपैयाँ तिरेको हो।

बैंकको गत आवको मुनाफाबाट सेयरधनीलाई दिन मिल्ने नाफा भने अझै ऋणात्मक नै देखिएको छ। बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ। 

अघिल्लो वर्ष ५ अर्ब ३६ करोडले ऋणात्मक हुँदा लगानीकर्ताले लाभांश पाएका थिएनन् । गत वर्ष पनि यस्तो रकम ऋणात्मक नै रहेपछि सेयरधनीले लाभांश नपाउने देखिएको हो। 

बैंकको सञ्चालन आम्दानी चौथो त्रैमाससम्मको तुलनामा १०.९८ प्रतिशतले बढेर १५ अर्ब १३ करोड पुगेको छ ।

यस्तै, बैंकले कर्जा लगानीबाट राम्रो आम्दानी गर्न सफल भएको छ ।  बैंकको खुद ब्याज आम्दानी पनि ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको छ । 

बैंकले आफ्नो वितरण योग्य नाफा २ अर्ब ७९ करोड पुगेको जनाए पनि वित्तीय विवरणमा देखिएको अर्को महत्त्वपूर्ण पक्ष भनेको यो बैंकको खराब कर्जा अनुपात हो जुन ०.४६ प्रतिशतले बढेर ६.४२ प्रतिशत पुगेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मा बैंकको जगेडा कोष ०.६२ प्रतिशतले घटेर  १३ अर्ब ८६ करोड पुगेको छ । यता, प्रतिशेयर आम्दानी ८.०५ ले बढेर ८.०७ पुगेको छ भने प्रतिशेयर नेटवर्थ  १४२ कायम रहेको छ ।

सानिमा बैंक

सानिमा बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २ अर्ब ३९ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानीसँगै फी तथा कमिसन आम्दानी बढ्दा नाफामा योगदान पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा खुद ब्याज आम्दानी ६ अर्ब १८ करोड रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ३५ करोड रुपैयाँ छ । बैंकको लोन लस प्रोभिजन बढेको छ । यस्तो रकम अघिल्लो आर्थिक वर्ष १ अर्ब ४३ करोड रहेकोमा गत आवमा १ अर्ब ८८ करोड छ ।

बैंकको प्रतिसेयर आम्दानी पहिले १७ रुपैयाँ ६५ पैसा रहेकोमा अहिले १८ रुपैयाँ ९३ पैसा छ । बैंकको निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा निष्क्रिय कर्जा पहिले १.७२ प्रतिशत रहेकोमा अहिले ३.०१ प्रतिशत पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा २०.४७ रुपैयाँ हो । प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको यस बैंकको सेयर मूल्य ३७५ रुपैयाँ हाराहारीमा छ ।

माछापुच्छ्रे बैंक
त्यसैगरी, माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा नाफा करिब शतप्रतिशतकै हाराहारीले बढाएको छ। बैंकले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको हो।

अघिल्लो वर्षको बैंकको नाफा १ करोड ४ लाख मात्रै थियो। जुन गत वर्ष ९७ करोड रुपैयाँले बढाएको हो। बैंकले गत वर्ष गैरबैंकिङ सम्पत्ति लिलामी गरेपछि सोको कर्जामा गरेको नोक्सानी व्यवस्थापनबापतको रकम फिर्ता पाउँदा त्यसको असर नाफामा देखिएको छ।

गत वर्ष बैंकले गैरबैंकिङ सम्पत्तिमा गरेको प्रोभिजनमार्फत ४६ करोड रुपैयाँ फिर्ता गरी नाफामा देखाएको हो। यस्तै बैंकको इम्पेयरमेन्ट चार्ज रिभर्सल पनि २५ करोड रुपैयाँले सकारात्मक देखिएको छ।

त्यसो त गत वर्ष बैंकले ब्याज आम्दानी ५ अर्ब ७५ करोड रुपैयाँले बढाउँदा ७ अर्ब ८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ९८ करोड ब्याज आम्दानी र ६ अर्ब ३८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा गत वर्ष बढाएको हो।

बैंकको सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ६६ करोड रुपैयाँमात्रै मुनाफा गरेको बैंकले गत वर्षमा ३ अर्ब ३३ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको छ।

बैंकले वित्तीय सूचकहरुमा सुधार गरेसँगै बैंकका सेयरधनीले पाउने नाफामा पनि वृद्धि भएको छ। गत आवमा बैंकका वितरणयोग्य नाफा १ अर्ब ७७ करोड छ । उक्त नाफाबाट बैंकले सेयरधनीहरुलाई प्रतिकित्ता ९ रुपैयाँ २३ पैसासम्म लाभांश दिनसक्ने क्षमता राख्छ।

खराबकर्जा समग्र वाणिज्य बैंकहरुकै चुनौती बनिरहँदा यो बैंकले भने यस्तो कर्जाको दर ३.८३ प्रतिशतमा सीमित राखेको छ। जुन अघिल्लो आर्थिक वर्षभन्दा कम हो। अघिल्लो आवमा बैंकको खराब कर्जा दर ३.८६ प्रतिशत थियो।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ३ अर्ब ३९ करोड रुपैयाँ छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानीमा आएको सुधारले नाफा बढाएको छ । खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ९३ करोड रुपैयाँ रहेकोमा गत अर्थिक वर्ष यो बढेर ८ अर्ब ४३ करोड पुगेको छ ।

नोक्सानी व्यवस्थापनवापत छुट्याइएको रकम सामान्य बढेको छ । यस्तो रकम पहिले १ अर्ब ५ करोड रुपैयाँ रहेकोमा गत असार मसान्तसम्म १ अर्ब ३१ करोड रुपैयाँ छ ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले २१ रुपैयाँ ८६ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले २४ रुपैयाँ १० पैसा छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ छ । प्रतिसेयर १३ रुपैयाँ २२ पैसा वितरणयोग्य नाफा हो ।

बैंकको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा छ । बैंकको चुक्ता पूँजी १४ अर्ब रुपैयाँ छ । हाल सेयर मूल्य प्रतिकित्ता ३७१ रुपैयाँ छ । बैंकको निष्क्रिय कर्जा सामान्य बढेको छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश पहिले २.१७ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म २.६२ प्रतिशत छ । बैंकको आधार दर घट्दो क्रममा छ । अघिल्लो वर्ष ८.११ प्रतिशत रहेकोमा अहिले यो ६.४२ प्रतिशतमा झरेको छ । इक्वीटीमा वार्षिक प्रतिफल ११.५० प्रतिशत छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकको वित्तीय विवरण उत्साहजनक देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब १५ करोड रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा खुद नाफा २ अर्ब ८९ करोड रुपैयाँ थियो ।

नोक्सानी व्यवस्थापनवापत छुट्याइने रकम (इम्पेरिमेन्ट चार्ज) घटेसँगै नाफामा उच्च वृद्धि देखिएको हो । यस्तो रकम अघिल्लो आर्थिक वर्षमा २ अर्ब ४५ करोड रहेकोमा गत आर्थिक वर्ष १० करोड ६२ लाख रुपैयाँ छ ।

खुद ब्याज आम्दानी सामान्य घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा १० अर्ब ५५ करोड रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ८२ करोड छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा छ । यस्तो आम्दानी अघिल्लो वर्षको तुलनामा ९ रुपैयाँ बढेको हो ।

गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १५.५८ रुपैयाँ हो । बैंकले निष्क्रिय कर्जा घटाउन सफल भएको छ ।

यस्तो निष्क्रिय कर्जा पहिले ३.९१ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म ३.२६ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा बैंकको आधार दर ८.०९ प्रतिशतबाट झरेर ५.८७ मा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ छ । हाल बजार मूल्य प्रतिकित्ता ३२८ रुपैयाँ छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले भने यो पटक नाफा घटाएर अपरिष्कृत वित्तीय विवरण निकालेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा २.०८ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष बैंकको ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ११.२० प्रतिशतले कम हो । सोही अवधिमा बैंकको सञ्चालन आम्दानी ८ अर्ब १२ करोड ४४ लाख १० हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.१३ प्रतिशतले बढी हो ।

बैंकको खराब कर्जा ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १९ पैसा घटेर ८ रुपैयाँ ७६ पैसामा आएको छ । बैंकको मूल्य आम्दानी अनुपात २६.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा छ ।

बैंकको १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बैंकले जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ । अघिल्लो वर्षले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।